वीरगंज , असार २४—
पर्साको कालिकामाई गाउँपालिकाका कर्मचारीमाथि कार्यालयमै भएको कुटपिट घटनाको विरोध गर्दै गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी पर्सालाई पत्र पठाउँदै कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि असार २३ गते कार्यालय समयमै भएको कुटपिटको घटनाले कर्मचारी समुदायको सुरक्षा र मनोबलमा गम्भीर असर परेको जनाएको छ। कर्मचारीले उक्त घटनाको घोर भर्त्सना गर्दै सरकारी कार्यालयमा कार्यरत कर्मचारीमाथिको आक्रमण अस्वीकार्य भएको उल्लेख गरेका छन्।
कर्मचारीहरूको संयुक्त विज्ञप्तिमा घटनामा संलग्न रहेको आरोप लागेका कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नं. ३ का अध्यक्ष संजयकुमार पटेलसहित वीरेन्द्र कुशवाहा, हिरो पटेल, संजय कुशवाहा, मेनोदिन आलम, धनिलाल पटेल र विकास कुशवाहामाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ।
कर्मचारीहरूले दोषीमाथि कारबाही नभएसम्म गाउँपालिकाको सम्पूर्ण कामकाज बन्द गरी जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना बस्ने तथा कार्यालयमै ‘पेन डाउन’ आन्दोलन गर्ने चेतावनी दिएका छन्।
विज्ञप्तिमा कर्मचारीमाथिको आक्रमणलाई व्यक्तिगत घटना नभई सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमण र सुशासनमाथिको चुनौतीका रूपमा व्याख्या गरिएको छ। साथै, कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्दै प्रशासनिक निर्णयका नाममा कर्मचारीलाई बलिको बोका बनाउने प्रवृत्तिको अन्त्य गर्नसमेत माग गरिएको छ।








