रौतहटमा जग्गा विवाद हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २४ —

रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको स्वामित्वको विषयलाई लिएर विवाद भएको थियो। भनाभन चर्किएपछि कुटपिट हुँदा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए।

ढाडमा गम्भीर चोट लागेका बुटन साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि राति करिब ९ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए।

घटनामा रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले चक्कु प्रहारमा संलग्न रामेश्वर साह र रामऔतार साहलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित पोस्टहरुः