वीरगंज , असार २४ —
पाँचथर प्रहरीले १५ वर्षीय किशोरको हत्या गरेको आरोपमा फाल्गुनन्द गाउँपालिका–७ का वडाध्यक्ष देउकुमार आङदेम्बेलाई पक्राउ गरेको छ।
आरोपित आङदेम्बेकै घरमा काम गर्दै आएका सोही स्थानका १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक र मुखबाट रगत बगेको अवस्थामा सुतेकै ठाउँमा मृत फेला परेका थिए।
घटनापछि मृतकका बुबा खेमबहादुर आङदेम्बेले ज्यान सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि २०८३ असार ८ गते मृतककी आमा लालकुमारी चेम्जोङले पनि वडाध्यक्ष आङदेम्बेविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दर्ता गराएकी थिइन्।
जिल्ला अदालत पाँचथरले असार १० गते पक्राउ अनुमति जारी गरेपछि प्रहरीले सोमबार फिदिम नगरपालिका–४ स्थित फिदिम बजारबाट आङदेम्बेलाई पक्राउ गरेको हो।
पक्राउ परेका आङदेम्बेलाई जिल्ला अदालत पाँचथरबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।






