वीरगंज , असार २४ –
फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र इजिप्टबीच भएको प्रि–क्वाटरफाइनल खेलपछि भीएआर (VAR) निर्णयलाई लिएर विवाद चर्किएको छ।
अमेरिकाको एटलान्टामा भएको खेलमा अर्जेन्टिनाले २–० ले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गरेको थियो। तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको निर्णय तथा त्यसपछिका केही रेफ्री निर्णयप्रति फुटबल विश्लेषक र विज्ञहरूले प्रश्न उठाएका छन्।
खेलकुद विज्ञ साइमन चाडविकले इजिप्टले गोल गरिसकेपछि मात्रै भीएआर हस्तक्षेप हुनु असामान्य भएको टिप्पणी गरेका छन्। फुटबल विश्लेषक अली एल गार्नीले अर्जेन्टिनाको निर्णायक गोलअघि इजिप्टका मोहम्मद सलाहमाथि भएको फाउलमा भने भीएआर प्रयोग नगरिएको बताएका छन्।
इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले पनि म्याच अफिसियलहरूमाथि दबाब परेको आशंका व्यक्त गर्दै प्रतियोगितामा लियोनल मेसीलाई टिकाइराख्न पक्षपातपूर्ण निर्णय भएको हुन सक्ने दाबी गरेका छन्।
यस घटनापछि विश्वकपमा रेफ्री र भीएआर प्रणालीको निष्पक्षतामाथि फेरि बहस सुरु भएको छ।







