कालिकामाई गाउँपालिकामा कर्मचारीमाथि कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २४ —

पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले बुधबारदेखि पेनडाउन गर्दै आन्दोलन सुरु गरेका छन्।

कर्मचारीहरूले कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि मंगलबार कार्यालय परिसरमै कुटपिट तथा दुर्व्यवहार भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै माग पूरा नभएसम्म कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्।

कर्मचारीहरूको विज्ञप्तिमा बहुक्षेत्रीय पोषण कार्यक्रमसम्बन्धी विषयलाई लिएर चौरसियामाथि आक्रमण गरिएको उल्लेख गर्दै कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नं. ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलसहित संलग्नमाथि कानुनी कारबाहीको माग गरिएको छ।

आन्दोलनका कारण गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा प्रभावित भएको छ भने गाउँपालिका अन्तर्गतका विद्यालयसमेत बन्द भएका छन्।

यता, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा रामबालक साह कानु र अरविन्द चौरसियालाई पक्राउ गरेको जनाएको छ। अन्य आरोपितहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः