वीरगंज, असार २५ —
समाजसेवा र मानवताप्रति समर्पित ७३ वर्षीया स्वर्गीय उषादेवी द्वारकाले मरणोपरान्त नेत्रदान गरी प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन्।
जीवनभर आँखासम्बन्धी समस्याबाट पीडित रहे पनि आफ्ना आँखाबाट अरू कसैले संसार देख्न सकून् भन्ने भावनाका साथ उनले नेत्रदान गर्ने निर्णय लिएकी थिइन्। उनको यो निर्णयले समाजमा अङ्गदान तथा नेत्रदानप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।
उनको अन्तिम इच्छाअनुसार रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको प्राविधिक टोलीले नेत्र संकलन गरेको थियो। तेरापन्थ युथ कमिटी, वीरगंजले आवश्यक समन्वय गर्दै नेत्रदान अभियान सफल बनाउन सहयोग गरेको जनाएको छ।







