मोबाइल व्यवसायीमाथि लुटपाट प्रयास, गोली प्रहार

1200x150_1200x150-01.jpg (1)

सर्लाही, असार २५ —

सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि लुटपाट गर्ने प्रयासका क्रममा अज्ञात समूहले गोली प्रहार गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्ने लालबन्दी–९ बस्तीपुरका हरिप्रसाद सापकोटामाथि बुधबार राति घर फर्कने क्रममा लुटपाटको प्रयास भएको हो।

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले लुटपाट गर्न खोज्दा सामान्य धकेलाधकेल भएपछि कटुवा पेस्तोलबाट गोली प्रहार गरेका थिए। घटनामा सापकोटा र उनीसँग रहेका अर्का व्यक्ति भने सकुशल रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट पड्किएका दुई वटा गोलीका खोका बरामद गरिएको छ। घटनालगत्तै प्रहरीले सर्च अपरेशन सञ्चालन गरे पनि संलग्न व्यक्तिहरू पक्राउ परेका छैनन्।

घटनापछि लालबन्दी क्षेत्रका व्यवसायी र स्थानीयवासीमा त्रास फैलिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः