मधेशका अस्पतालमा सर्पदंश र रेबिजविरुद्धको औषधि अभाव

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २५

मधेश प्रदेशका अधिकांश अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम र कुकुरलगायत जनावरको टोकाइपछि दिइने एन्टिरेबिज भ्याक्सिनको अभाव भएपछि बिरामीको उपचार प्रभावित हुने अवस्था सिर्जना भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा. प्रमोद यादवले समयमै औषधि आपूर्ति हुन नसक्दा प्रदेशका अधिकांश अस्पतालमा मौज्दात सकिने अवस्थामा पुगेको जानकारी दिए। उनका अनुसार केही अस्पतालमा सीमित मात्रामा औषधि बाँकी रहे पनि धेरै स्वास्थ्य संस्थामा अभाव देखिएको छ।

हाल मधेश प्रदेशका २७ वटा अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालन हुँदै आएको छ। वर्षायामसँगै सर्पको सक्रियता बढिरहेका बेला प्रतिविषको अभावले उपचारमा गम्भीर समस्या निम्तिने चिन्ता बढेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रादेशिक अस्पताल जनकपुरमा ३५० भाइल एन्टिस्नेक भेनम मौज्दात रहे पनि प्रादेशिक अस्पताल कलैया, धनुषाधाम नगरपालिका अस्पताल र गौशाला नगर अस्पतालमा भने मौज्दात शून्य छ। अन्य धेरै अस्पतालमा २० देखि १०० भाइलसम्म मात्रै औषधि बाँकी रहेको विवरण छ।

औषधि खरिदका लागि स्वास्थ्य मन्त्रालयले एन्टिस्नेक भेनम र एन्टिरेबिज भ्याक्सिनका लागि दुई/दुई करोड रुपैयाँ गरी चार करोड रुपैयाँ बजेट माग गरे पनि अर्थ मन्त्रालयबाट निकासा हुन नसक्दा खरिद प्रक्रिया अघि बढ्न सकेको छैन।

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले नेपाली बजारमै औषधिको अभाव रहेकाले उपलब्ध हुनेबित्तिकै खरिद प्रक्रिया अघि बढाइने बताए। साथै, सङ्घीय तहबाट खरिद तथा आपूर्तिमा भएको ढिलाइका कारण प्रदेशका अस्पतालमा औषधि नियमित रूपमा पुग्न नसकेको उनको भनाइ छ।

सम्बन्धित पोस्टहरुः