वीरगंज , असार २६ —
आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार सघन उपचारका क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेपछि नेपालीको मृत्यु भएको हो।
नेपालीले आत्मदाह प्रयास गर्दा उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्याएकाले उनको अवस्था अत्यन्तै नाजुक रहेको चिकित्सकहरूले बताएका थिए।
उनी वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरमा राखी उपचाररत थिए। अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली खटाएर उपचार गरिरहेको थियो।
बिरामीको अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारीसमेत गरिएको थियो। तर स्वास्थ्य अवस्था स्थिर नभएका कारण चिकित्सकहरूले स्थानान्तरण नगर्न सुझाव दिएका थिए।
चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा गणेश नेपालीको निधन भएको हो।







