वीरगंज, असार २६ —
वीरगंजको घण्टाघर क्षेत्रस्थित त्रिभुवन राजपथको मध्यविन्दु निर्धारणलाई लिएर देखिएको विवाद अन्ततः समाधान भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा बसेको सर्वपक्षीय छलफलले एलाइन्मेन्ट निर्धारणबारे सर्वसम्मत निर्णय गरेको हो।
वीरगंज–घण्टाघर–त्रिभुवन राजपथको मध्यविन्दुबाट पूर्व र पश्चिमतर्फ २५–२५ मिटर सडक फराकिलो गर्ने क्रममा घण्टाघरको उत्तर र दक्षिणतर्फ चिनो लगाएपछि स्थानीयस्तरमा विवाद उत्पन्न भएको थियो।
विवाद समाधानका लागि आयोजित छलफलमा सडक डिभिजन कार्यालय हेटौंडा, नापी विभाग पर्सा, वीरगंज महानगरपालिकाका प्राविधिक प्रतिनिधि, वडा नं. ६, ८ र ९ का वडाध्यक्ष तथा सरोकारवाला प्रतिनिधिहरू सहभागी भएका थिए।
छलफलमा २०४६/०४७ सालको नापी नक्सालाई आधार मानेर घण्टाघरदेखि उत्तरतर्फ गण्डकसम्म र दक्षिणतर्फ मितेरी पुल–माइस्थान हुँदै घण्टाघरसम्म रहेको त्रिभुवन राजपथको एलाइन्मेन्टलाई जोड्ने विषयमा सहमति भएको हो।
निर्णयअनुसार दुवैतर्फबाट घण्टाघर र नेपाल दूरसञ्चार कार्यालयको बीचबाट आउने करिब ८.६ मिटर चौडाइको विद्यमान सडकलाई आधार मानेर एलाइन्मेन्ट कायम गरिनेछ।
सरोकारवालाबीच भएको उक्त सहमतिसँगै लामो समयदेखि विवादमा रहेको घण्टाघर क्षेत्रको मध्यविन्दु निर्धारणको विषय टुंगिएको छ। यसले भविष्यमा सडक विस्तारको कामलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ।







