वीरगंज, २६ असार । वीरगंज महानगरपालिकामा जारी सडक विस्तारका कारण मुख्य सडकका नालाहरू जाम हुँदा शुक्रबार राति परेको वर्षाले सहरका विभिन्न चोकहरू जलमग्न भएका छन्। सडक विस्तारका क्रममा घरहरू भत्काउँदा निस्किएको भग्नावशेष (मलबा) बेलैमा व्यवस्थापन हुन नसक्दा महानगरका मुडली, त्रिमुर्ती चोक, छपकैया इदगाह चोक र पिपरा चोक लगायतका क्षेत्रहरू डुबानमा परेका हुन्।
वर्षाको पानी जमेर सहरका मुख्य चोकहरू नै थुनिएपछि महानगरपालिकाले शुक्रबार बिहानैदेखि पानी निकासका लागि ‘एक्सन टिम’ परिचालन गरेको छ। एक्सन टिमका संयोजक सरफुदिन मियाको नेतृत्वमा प्राविधिक तथा सफाइकर्मीको टोली यतिबेला स्थलगत रूपमा खटिएको छ। पानी खुलाउनका लागि महानगरले तीन वटा एक्साभेटर, आधा दर्जन ट्याक्टर र एक दर्जनभन्दा बढी सफाइकर्मी प्रयोग गरेर नाला खोतल्ने कार्य गरिरहेको छ।
एक्सन टिमका संयोजक सरफुदिन मियाका अनुसार सडक विस्तारका क्रममा घरहरू तोडफोड गर्दा निस्किएका ढुङ्गा, इँटा र माटोका गेग्रानहरू नालामा जम्मा भएका कारण यो समस्या निम्तिएको हो। सहरका अधिकांश नालाहरूमा घरका मलबाहरू थुप्रिएर जाम भएकाले रातिको वर्षाको पानी निकास हुन नसकेको बताउँदै संयोजक मियाले नागरिकलाई राहत दिन र यो समस्यालाई यथाशीघ्र समाधान गर्न आफ्नो टोली निरन्तर लागिपरेको जानकारी दिए।
सडक विस्तारका क्रममा घरहरू भत्काइएपछि निस्किएको मलबा र सडकमा लथालिङ्ग अवस्थामा छरिएका बिजुली तथा इन्टरनेटका तारका कारण यतिबेला वीरगन्ज सहर निकै अस्तव्यस्त बनेको छ। नाला जाम र हिलोका कारण स्थानीय बासिन्दा तथा सर्वसाधारण यात्रुहरूले निकै सास्ती भोग्नुपरेको छ। महानगरपालिकाले भने नाला सफाइ गरेर पानी सहज रूपमा बगाउने काम भइरहेको र सहरलाई सामान्य अवस्थामा फर्काउन प्रयासरत रहेको जनाएको छ।







