विद्युत सेवा सुधार्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, असार २६ —

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणलाई विद्युत वितरण प्रणाली सुधार गर्दै ग्राहक सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

बिहीबार नेपाल विद्युत प्राधिकरणका प्रदेश तथा डिभिजन प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै मन्त्री श्रेष्ठले विद्युत सेवालाई दिगो, सुरक्षित र भरपर्दो बनाउन वितरण प्रणाली चुस्त राख्नुपर्ने बताए। पछिल्ला दिनमा विभिन्न स्थानमा देखिएको विद्युत आपूर्ति समस्याको कारण र समाधानबारे जानकारी लिँदै उनले विद्युत कटौती तथा मर्मतसम्बन्धी सूचना सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत समयमै दिन, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्न तथा जवाफदेही बन्न आग्रह गरे।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा वितरण प्रणाली सुधारका लागि आवश्यकता र औचित्यसहित बजेट प्रस्ताव पेश गर्न उनले निर्देशन दिए। ट्रान्सफर्मरलगायत उपकरणको गुणस्तरमा कुनै सम्झौता नगर्न पनि उनले चेतावनी दिए।

विद्युत मानिसको आधारभूत आवश्यकतासँग जोडिएको सेवा भएकाले यसको नियमित र विश्वसनीय आपूर्ति सुनिश्चित गर्न प्राविधिक तथा व्यवस्थापकीय सुधार तत्काल सुरु गर्न उनले नेपाल विद्युत प्राधिकरणका नेतृत्वलाई निर्देशन दिए। विद्युतको आन्तरिक खपत बढाउने सरकारी रणनीतिअनुसार आवश्यक नीतिगत सुधारका प्रस्ताव मन्त्रालयमा पेश गर्न पनि उनले आग्रह गरे।

ऊर्जा आपतकालीन रणनीतिको पहिलो चरण काठमाडौं उपत्यकाबाट लागू गरिने भएकाले त्यसअनुसार आवश्यक संरचनागत तयारी गर्न उनले प्राधिकरणलाई निर्देशन दिए।

छलफलमा ऊर्जा सचिव सरिता कुमारी दवाडीले प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर किसानलाई कृषि मिटर उपलब्ध गराउने तथा सिँचाइ सुविधा विस्तारमार्फत कृषि उत्पादन बढाउने दिशामा काम गर्न प्राधिकरणलाई निर्देशन दिइन्।

सम्बन्धित पोस्टहरुः