दुधौरा पुल निर्माण सम्पन्न कानूनी विवादले सञ्चालन अन्योलमा

1200x150_1200x150-01.jpg (1)

निजगढ- बाराको निजगढ–पथलैया सडकखण्डस्थित दुधौरा पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगे पनि जीतपुरसिमरा उपमहानगरपालिका र निर्माण कम्पनीबीचको विवादका कारण पुल अझै विधिवत्रूपमा सञ्चालनमा आउन सकेको छैन ।

उपमहानगरपालिकाले पुल निर्माणका क्रममा अनुमतिविना दुधौरा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी प्रयोग गरेको आरोप लगाउँदै निर्माण कम्पनी महादेव/खिम्ती/हीराचन जेभीका एक्साभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएपछि विवाद चर्किएको हो ।

उपमहानगरपालिकाले करीब चार हजार ४६२ घनमिटर ग्राभेल उत्खनन गरिएको दाबी गर्दै मूल्य अभिवृद्धि करसहित १६ लाख दुई हजार ६०७ रुपैयाँ राजस्व तथा जरिवाना तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको छ । तर निर्माण कम्पनीले आरोप अस्वीकार गर्दै कुनै अवैध उत्खनन नगरेको जनाएको छ ।

दुवै पक्ष आआफ्नो अडानमा कायम रहँदा पुल निर्माण सम्पन्न भएर पनि अन्तिम निरीक्षण, हस्तान्तरण र औपचारिक सञ्चालन प्रक्रिया अघि बढ्न सकेको छैन । केही समय अघि पुलमा कालोपत्रे गरिएको भएपनि पहुँच सडकका बाँकी काम अपूरा रहेकाले सवारीसाधन सञ्चालन अझै जोखिमपूर्ण रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ठेक्का सम्झौता भएको उक्त चार लेनको ९० मिटर लामो पुल करीब १५ करोड २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । निर्धारित समयभन्दा निकै ढिलो सम्पन्न भएको पुल कानूनी विवादका कारण सञ्चालनमा आउन नसक्दा दैनिक हजारौं यात्रुले सास्ती खेप्नुपरेको छ ।

सम्बन्धित पोस्टहरुः