पर्सा, असार २६ —
अविरल वर्षापछि बागमती नदीमा आएको बाढीले कीर्तिपुर–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी पुनः विस्थापित भएका छन्।
होल्डिङ सेन्टरमा पानी पसेपछि सुरक्षाकर्मीले डुङ्गामार्फत उद्धार र सामान निकाल्ने प्रयास गरेका छन्। तर अधिकांश घरायसी सामग्री, लत्ताकपडा तथा अत्यावश्यक सामान पानीले नष्ट भएको पीडितहरूले बताएका छन्।
गृह मन्त्रालयका अनुसार १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा स्थानान्तरण गरिएको छ। ६ जना आफन्तकहाँ गएका छन् भने ९४ जना सुरक्षित स्थानमा बसिरहेका छन्।
प्रभावित परिवारका लागि खाना, खानेपानी तथा अन्य राहत सामग्री उपलब्ध गराउने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ।







