वीरगंज, असार २८ —
नेपालको शेयर बजार लगातार ओरालो लाग्दै नेप्से परिसूचक २ हजार ६ सय बिन्दुमा झरेको छ। यो पछिल्लो ६ महिनायताकै न्यून स्तर हो।
नयाँ सरकार गठन तथा शेयर बजारमैत्री नीति घोषणा भए पनि लगानीकर्तामा अपेक्षित उत्साह देखिएको छैन। बालेन शाह नेतृत्वको सरकार गठनअघि करिब २ हजार ९ सय ५० बिन्दुमा रहेको नेप्से हालसम्म करिब ३५० अंकले घटेको छ।
सरकारले बजेटमार्फत पुँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिने तथा शेयर बजार सुधारका विभिन्न नीति ल्याए पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छैन। यस्तै, राष्ट्र बैंकको मौद्रिक नीतिपछि पनि बजारले सुधारको गति समात्न नसकी थप गिरावट आएको छ।
शेयर बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताको मनोबल कमजोर हुनु, मौद्रिक नीतिप्रतिको असन्तुष्टि, असार मसान्तको सेटलमेन्ट दबाब तथा बजारमा देखिएको अन्योलले नेप्से निरन्तर घटिरहेको हो।







