पर्सा, असार २९ —
पर्साको बिन्दबासिनी गाउँपालिका–४ छटघाट र भारतको बिहारस्थित तिलावे खोलामा आइतबार सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले संयुक्त विपद् व्यवस्थापन कृत्रिम अभ्यास (Simulation Exercise) सम्पन्न गरेका छन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर केसी र एसएसबीका सहायक कमाण्डेन्ट संगम सिंह रावतको नेतृत्वमा सम्पन्न अभ्यासमा बाढी तथा डुबानका बेला उद्धार, राहत तथा समन्वयात्मक कार्यको व्यावहारिक प्रदर्शन गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सीमावर्ती क्षेत्रका स्थानीयवासीको सहभागिता रहेको थियो। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि र नेपाल–भारतबीचको समन्वय सुदृढ बनाउन यस्ता संयुक्त अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।







