पोखरिया, पर्सा ३० —
आर्थिक सङ्कटका कारण पोखरिया प्रादेशिक अस्पतालमा विगत एक वर्षदेखि औषधि सेवा ठप्प हुँदा सेवाग्राही गम्भीर समस्यामा परेका छन्। निःशुल्क तथा स्वास्थ्य बीमाअन्तर्गत वितरण गरिने औषधि अभाव भएपछि बिरामी बाहिरबाट महँगो मूल्यमा औषधि किन्न बाध्य भएका छन्।
गत चैत महिनादेखि आवश्यक केमिकल अभावका कारण प्रयोगशाला सेवा पूर्ण रूपमा बन्द छ भने भुक्तानी नपाएको भन्दै ठेकेदारले एक्स–रे र भिडियो एक्स–रे सेवासमेत रोकिदिएका छन्। यसले बिरामीलाई सामान्य परीक्षणका लागि पनि निजी स्वास्थ्य संस्थाको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यता अधिकांश सेवा बन्द रहे पनि चालु आर्थिक वर्षमा केही कर्मचारीले जनही ८० हजार रुपैयाँ जोखिम भत्ता बुझेको तथ्य सार्वजनिक भएको छ। प्रदेश सरकारबाट प्राप्त १८ लाख रुपैयाँमध्ये दुई वटा एसी, केही शय्या खरिद तथा कर्मचारीलाई जोखिम भत्ता वितरण गरिएको स्रोतको दाबी छ। तर औषधि खरिद, केमिकल व्यवस्थापन र बन्द सेवा सञ्चालनमा प्रभावकारी पहल नभएको आरोप लागेको छ।
स्थानीयवासीले अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सञ्चालन, औषधि आपूर्ति नियमित गर्न तथा सार्वजनिक रकमको खर्चबारे निष्पक्ष छानबिन गर्न प्रदेश सरकारसँग माग गरेका छन्। यस विषयमा अस्पताल प्रशासनको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।







