काठमाडौं, असार ३० —
प्रतिनिधिसभा सदस्य हरि पन्तले पर्साको ऐतिहासिक सिर्सिया नदी औद्योगिक प्रदूषणका कारण दुर्गन्धित नालामा परिणत भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पर्सा क्षेत्र नम्बर–१ का सांसद पन्तले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले प्रशोधन नगरी रासायनिकयुक्त फोहोर पानी सिर्सिया नदीमा मिसाउँदै आएको आरोप लगाए। यसले सदियौँ पुरानो नदीको अस्तित्व नै संकटमा परेको उनको भनाइ थियो।
सांसद पन्तले एक समय छठ पर्वमा सिर्सिया नदीमै उभिएर अर्घ दिने परम्परा रहेको स्मरण गराउँदै अहिले नदीको दुर्गन्धका कारण त्यहाँ उभिनसमेत नसकिने अवस्था सिर्जना भएको बताए। नदी प्रदूषित हुँदा लामखुट्टेको प्रजनन बढेको र आसपासका बस्तीका नागरिक राति ढुक्कसँग सुत्नसमेत नसक्ने अवस्था आएको उनले उल्लेख गरे।
उनले विगतका संघीय, प्रदेश र स्थानीय सरकारले सिर्सिया नदी सफाइलाई चुनावी नारामा मात्र सीमित गरेको आरोप लगाउँदै कुनै ठोस काम हुन नसकेको बताए। वर्तमान सरकारप्रति जनताले ठूलो आशा राखेकाले सिर्सिया नदीलाई पुनर्जीवन दिन तत्काल प्रभावकारी योजना अघि बढाउन सरकारसँग आग्रह गरे।
सांसद पन्तले सम्माननीय सभामुखमार्फत सिर्सिया नदी संरक्षण, प्रदूषण नियन्त्रण तथा सफाइ अभियानलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।







