एजेन्सी —
भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा लगातारको वर्षापछि फोहोरको ठूलो थुप्रो खस्दा ९ जना कामदारको ज्यान गएको छ।
समाचार संस्था एएफपीका अनुसार, दुर्घटना गत बुधबार पुणे शहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोर प्रशोधन केन्द्रमा भएको हो। नजिकैको ल्यान्डफिल (फोहोर विसर्जन स्थल) बाट हजारौँ टन फोहोर खस्दा प्रशासनिक भवन पुरिएको थियो। त्यसबेला भवनभित्र रहेका २३ जना कर्मचारीमध्ये १४ जनालाई जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ।
निरन्तर वर्षाका कारण ल्यान्डफिल अस्थिर बनेर फोहोर खस्दा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटनापछि संरचनागत तथा सुरक्षा परीक्षण पूरा नभएसम्म केन्द्रको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ।
भारतमा मनसुनका बेला भारी वर्षाका कारण यस्ता पूर्वाधारसम्बन्धी दुर्घटना बारम्बार हुने गरेका छन्। मौसमविद्हरूले यस वर्ष ‘एल निनो’ को प्रभावका कारण वर्षाको स्वरूप अझ असामान्य हुन सक्ने चेतावनी दिएका छन्।






