पर्सा , असार ३० —
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको बक्यौता असुली प्रक्रिया कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले उद्योगी–व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता नियमित प्रक्रियाअनुसार असुल गरिने भन्दै राज्यलाई तिर्नुपर्ने रकमबाट कोही पनि उम्किन नसक्ने बताए।
उनले हरेक वर्ष असार, साउन र भदौ महिनामा विद्युत् आपूर्तिमा चुनौती आउने गरे पनि यस वर्ष मर्मत तथा सुधारका कामलाई छिटो र प्रभावकारी बनाइएको जानकारी दिए।
विगतमा तीन महिनासम्म देखिने समस्या अब बहाना बन्न नसक्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले विद्युत् प्रणालीको स्तरोन्नतिका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत यस वर्षदेखि कार्यान्वयनमा ल्याइएको बताए।






