आफुलाई अमेरिकी पूर्व सैनिक दाबी गर्ने व्यक्ति भारत–नेपाल सीमाबाट पक्राउ

1200x150_1200x150-01.jpg (1)

पर्सा , असार ३० —

भारतको उत्तर प्रदेशस्थित महाराजगन्ज जिल्लाको भारत–नेपाल सीमा क्षेत्रबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले आफू अमेरिकी नौसेना तथा स्पेशल फोर्सेजका पूर्व सैनिक भएको दाबी गरेका छन्।

भारतीय समाचार संस्था पीटीआईका अनुसार ३६ वर्षीय जोर्डन ब्राउनलाई गत जुलाई ११ मा सुनौली सीमा क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) ले विना पासपोर्ट र भिसा नेपाल प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

सुरक्षाकर्मीले जाँचका लागि रोकेपछि उनले भाग्ने प्रयास गरे पनि एसएसबीले नियन्त्रणमा लिएको जनाएको छ। खानतलासीका क्रममा उनीसँगबाट ३१ हजार ४६० भारतीय रुपैयाँ नगद र दुई वटा मोबाइल फोन बरामद गरिएको छ।

प्रारम्भिक सोधपुछमा ब्राउनले आफू क्यालिफोर्नियाका बासिन्दा भएको, अमेरिकी नौसेना र स्पेशल फोर्सेजमा सेवा गरेको तथा नेपालमा एक नेपाली नागरिकलाई भेट्न जान लागेको दाबी गरेका छन्। तर उनले दिएको यात्रा विवरण र पहिचानसम्बन्धी जानकारी पटक–पटक फरक परेपछि भारतीय सुरक्षा निकायले उनको वास्तविक परिचय र उद्देश्यबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।

भारतीय प्रहरीले ब्राउनविरुद्ध ‘इमिग्रेसन एन्ड फरेनर्स एक्ट’ अन्तर्गत मुद्दा दर्ता गरेको छ। साथै, नयाँ दिल्लीस्थित अमेरिकी दूतावासलाई पनि घटनाबारे औपचारिक जानकारी गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित पोस्टहरुः