वीरगञ्ज, ३० असार । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ९ बस्ने रोहण केशरी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं. ९ स्थित एयरपोर्ट गोल्डेन गेट अगाडिबाट पक्राउ गरेको हो।
सम्मानित पर्सा जिल्ला अदालतको मिति २०८१ असार २३ गतेको फैसला (मुद्दा नं. ०७९-C१-०४८१) ले केशरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र रु. ३,३७,००० (तीन लाख सैतीस हजार) जरिवाना तोकेको थियो। अदालतको फैसलापछि उनी फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार, पक्राउ परेका केशरीलाई आवश्यक कारबाहीका लागि सम्मानित पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया भइरहेको छ।






