पर्सा , असार ३१ —
सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमार्फत मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, नेपाल वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षका रूपमा महाप्रबन्धकको जिम्मेवारीसमेत दिने निर्णय गरेको छ।
यस्तै, बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापन टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय पनि गरिएको छ।
सरकारका प्रवक्ता पोखरेलले सञ्चारमाध्यमका कार्यालयअगाडि गरिएको शंकास्पद पार्किङ घटनामा संलग्न जोसुकैमाथि पनि कानुनबमोजिम कारबाही हुने स्पष्ट पारे।






