पर्सा, असार ३१ —
कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनामा एक सातासम्म पनि जाहेरी दर्ता नभएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्।
मंगलबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीका अनुसार कालिकामाई–३ का वडाध्यक्ष सञ्जयकुमार पटेलसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता नगरेको आरोप लगाइएको छ।
कर्मचारीहरूले असार ३१ र साउन १ गते कालोपट्टी बाँधेर सीमित समय कार्यालय सञ्चालन गर्ने, साउन ४ र ५ गते जिल्ला प्रशासन कार्यालय पर्साअघि धर्ना दिने तथा माग सम्बोधन नभए साउन ६ गते गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरी कार्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाउने घोषणा गरेका छन्।
पीडित कर्मचारी चन्दनकुमार चौरसियाले योजनाबद्ध रूपमा आफूमाथि आक्रमण भएको दाबी गर्दै दोषीमाथि कडा कानुनी कारबाही र सरकारी कर्मचारीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्र मल्लले कर्मचारी पक्षबाट आपराधिक उपद्रवसम्बन्धी जाहेरी प्राप्त भएको र घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।






