बारा, असार ३१ —
मिटरब्याज तथा ठगीविरुद्ध आन्दोलनरत पीडितहरूसँग गृहमन्त्री सूदन गुरुङले बाराको निजगढमा करिब पाँच घण्टा लामो छलफल गरेका छन्। काठमाडौंतर्फ पैदल न्याय मार्च गरिरहेका पीडितहरूको आन्दोलन वार्तामार्फत समाधान गर्ने उद्देश्यले गृहमन्त्री सिमरा हुँदै निजगढ पुगेका हुन्।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदूर आन्दोलन, नेपालको नेतृत्वमा असार २५ गते जनकपुरबाट सुरु भएको पैदल यात्रा सोमबार राति निजगढ पुगेको थियो। पीडितहरूले फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध विशेष ऐन, विशेष न्यायाधिकरण गठन, साहुमहाजनको सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता तथा न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग अघि सारेका छन्।
छलफलमा मधेस प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा जिल्ला प्रशासनका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो। यद्यपि समाचार तयार पार्दासम्म दुवै पक्षबीच कुनै औपचारिक सहमति हुन सकेको छैन।
आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले ६ बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै मिटरब्याजसम्बन्धी विद्यमान कानुन प्रभावकारी नभएको आरोप लगाए। आन्दोलनकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले हजारौँ उजुरीमध्ये थोरै मात्रै फर्छ्योट भएको दाबी गर्दै सरकारले वास्तविक पीडितलाई न्याय दिन नसकेको आरोप लगाइन्।
गृहमन्त्री गुरुङले भने पीडितका माग गम्भीर रहेको स्वीकार गर्दै आवश्यक कानुनी सुधारका विषयमा सम्बन्धित निकायसँग परामर्श गरी पुनः वार्ता गरिने बताएका छन्। काठमाडौं पुगेसँगै आन्दोलन थप सशक्त बनाउने तयारी पीडितहरूको रहेको जनाइएको छ।






