पर्सा, असार ३२ —
पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित थरहटी गाउँमा बिहीबार बिहान चट्याङ लाग्दा तीन जना घाइते भएका छन्। बिहान करिब ७ बजे भैँसी चराउन जाने क्रममा अचानक परेको चट्याङले उनीहरू घाइते भएका हुन्।
घाइते हुनेमा दुःखी उराँव, लालबाबु महतो उराँव र सूर्य महतो उराँव रहेका छन्। घाइतेमध्ये सूर्य महतो उराँवको अवस्था गम्भीर रहेको स्थानीय युवा समाजसेवी दीपक रसाइलीले जानकारी दिए।
घटनालगत्तै स्थानीयवासीको सहयोगमा तीनै जनालाई उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको थियो। हाल उनीहरूको उपचार नारायणी अस्पतालमा भइरहेको वडा नम्बर २ का अध्यक्ष विजय गैरेले जानकारी दिए।






