पर्सा, असार ३२ —
पर्सा जिल्लाको उत्तरी भेगमा रहेको जितपुरदेखि पश्चिम ठोरीसम्म जोड्ने एकमात्र जनता रोड अन्तर्गत पर्सागढी नगरपालिका–३ स्थित फन्टी खोलामा पुल नहुँदा स्थानीयले प्रत्येक वर्ष वर्षायाममा सास्ती भोग्नुपरेको छ।
वर्षा सुरु भएसँगै खोलामा बाढी आउन थालेपछि सडक अवरुद्ध हुने गरेको छ। जसका कारण पूर्व–पश्चिम आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी तथा सवारी चालकहरू समस्यामा पर्ने गरेका छन्।
स्थानीयका अनुसार बाढीका बेला जोखिम मोलेर खोला पार गर्ने क्रममा सवारीसाधनको इन्जिनमा पानी पसेर बिग्रिने, कतिपय व्यक्ति लडेर घाइते हुने तथा यात्रुहरूलाई एक किलोमिटरभन्दा बढी घुमेर गन्तव्य पुग्नुपर्ने बाध्यता छ।
स्थानीयवासीले वर्षौंदेखि पुल निर्माणको माग गर्दै आए पनि हालसम्म स्थानीय, प्रदेश वा संघीय सरकारबाट कुनै ठोस पहल नभएको गुनासो गरेका छन्। उनीहरूले वर्षायाममा हुने सास्ती अन्त्य गर्न फन्टी खोलामा तत्काल पुल निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।






