पर्सा, असार ३२ —
पर्साका दुई छुट्टाछुट्टै स्थानमा बिहीबार परेको चट्याङबाट १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा शान्तिदेवी सहनी, राधिका देवी सहनी, रिता देवी सहनी, कुश्मी देवी सहनी, सन्ध्या देवी, प्रमिला सहनी र संगीता देवी गरी सात जना महिला घाइते भएका हुन्। उनीहरूमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने शान्तिदेवीको स्थानीय अस्पताल र अन्य पाँच जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, पटेर्वा सुगौली गाउँपालिका–२ थरहटी गाउँमा भैँसी चराउन गएका बेला चट्याङ लाग्दा दुःखी उराँव, लालबाबु महतो उराँव र सूर्य महतो उराँव घाइते भएका छन्। घाइतेमध्ये सूर्य महतो उराँवको अवस्था गम्भीर रहेको छ भने तीनै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






