वीरगंज , साउन ४ –
नेपालमा विद्युतीय यातायातको विस्तार र दिगो सार्वजनिक यातायातलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ओम्नी मोबिलिटी प्रालिले सोमबार वीरगंजमा चिनियाँ चेरी र ओन्डा ब्रान्डका विद्युतीय बसको औपचारिक बिक्री शुभारम्भ गरेको छ ।
वीरगंजमा आयोजित विशेष कार्यक्रममा यातायात व्यवसायी, उद्योगी–व्यवसायी र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा सहभागीहरूले चेरी र ओन्डाको विद्युतीय बसकोे आधुनिक प्रविधि, आकर्षक डिजाइन, उत्कृष्ट सुरक्षा सुविधा र सञ्चालन दक्षताबारे प्रत्यक्ष जानकारी लिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओम्नी मोबिलिटीका निर्देशक सन्दीप कुमार मोहताले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक र वातावरणमैत्री बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए ।
“नेपालको सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक, सुरक्षित, किफायती र वातावरणमैत्री बनाउने हाम्रो दीर्घकालीन प्रतिबद्धताको अर्को महत्वपूर्ण कदमका रूपमा हामीले वीरगंजमा चेरी र ओन्डाका विद्युतीय बस सार्वजनिक गरेका छौं। यी बसहरू केवल नयाँ सवारीसाधन मात्र होइनन्, नेपालको हरित भविष्यतर्फको यात्रा हुन्,“ मोहताले भने।
उनका अनुसार कम्पनीले ग्राहकलाई विश्वस्तरीय उत्पादनसँगै उत्कृष्ट बिक्रीपछिको सेवा, सहज स्पेयर पाट्र्स उपलब्धता र दक्ष प्राविधिक सहयोग प्रदान गर्नेछ ।
शून्य प्रदूषण र कम लागतका विशेषता
चेरी र ओन्डाका यी विद्युतीय बसहरू अत्याधुनिक प्रविधिमा आधारित छन्। यी बसले शून्य धुवाँ उत्सर्जन गर्ने, सञ्चालन खर्च न्यून हुने र मर्मत लागत कम लाग्ने विशेषता बोकेका छन्। यात्रुको सुरक्षा, आराम र दक्षतालाई प्राथमिकतामा राखेर डिजाइन गरिएका यी बसहरू नेपालको सार्वजनिक, संस्थागत र पर्यटकीय यातायातका लागि उपयुक्त विकल्प हुने कम्पनीको दाबी छ ।
ओम्नी मोबिलिटीले विद्युतीय सार्वजनिक यातायातलाई देशभर विस्तार गर्ने लक्ष्यसहित बिक्री तथा सेवा सञ्जाललाई अझ सुदृढ बनाउँदै लैजाने जनाएको छ । कम्पनीले बिक्रीपछिको सेवा र प्राविधिक सहयोगमार्फत ग्राहकको विश्वासलाई निरन्तर मजबुत बनाउने कम्पनीका बिक्री प्रमुख सुमन धमलाले प्रतिबद्धता व्यक्त गरे ।
३२ सिटे सिटीराइड विद्युतीय बसको मूल्य रु १ करोड ३३ लाख ९० हजार र ३५ सिटे विद्युतीय बसको मूल्य रु १ करोड ७९ लाख राखिएको छ । हाल शुभारम्भको अवसरमा प्रति बसको बिक्रीमा रु ३ लाख सम्म छुटको व्ययवस्था छ । ग्राहकले सरकारको नयाँ नियम अनुसार कुल मूल्यको २० प्रतिशत डाउनपेमेन्टमा विद्युतीय सवारी साधन खरिद गर्न सक्ने व्यवस्था छ । एक पटक चार्ज गरेपछि ती बसहरुले झण्डै २ सय किलोमिटर चल्ने कम्पनीले जनाएको छ ।
कार्यक्रमको समापनमा उपस्थित अतिथिहरूले बसको प्रत्यक्ष अवलोकन, प्रविधि प्रदर्शन र टेस्ट राइडमा सहभागिता जनाएका थिए । कम्पनीले निकट भविष्यमा नेपालका अन्य प्रमुख शहरहरूमा पनि यस्तै कार्यक्रम सञ्चालन गरी विद्युतीय सार्वजनिक यातायातको प्रवद्र्धनलाई थप गति दिने योजना सार्वजनिक गरेको छ।









