वीरगंज , साउन ५ –
काठमाडौंको बौद्ध गेटअगाडि सोमबार एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। घटनामा उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको प्रहरीले जनाएको छ।
काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार बेलुकी पौने ४ बजे आफ्नै शरीरमा आगो लगाएकी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घाइते गुरुङलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ। हाल उनको आईसीयूमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घटनापछि उनलाई तत्काल उद्धार गरी गोकर्णेश्वरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। अवस्था गम्भीर भएपछि बर्न अस्पताल रिफर गरिएको हो।
विवाहित गुरुङ बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी थिइन्। उनले आत्मदाहको प्रयास किन गरिन् भन्ने कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






