जनकपूर , साउन ५ –
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आउन लागेपछि हिन्दुवादी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्।
मंगलबार जानकी मन्दिर परिसरमा सम्राट सेना लगायतका विभिन्न हिन्दुवादी संघ–संस्थाका कार्यकर्ताले ‘जय श्री राम’, ‘हर्क साम्पाङ मुर्दाबाद’ र ‘हिन्दू विरोधी मुर्दाबाद’ लगायतका नाराबाजी गर्दै विरोध जनाएका हुन्। विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर ठेलमठेलसमेत भएको थियो।
हिन्दू सम्राट सेना र राष्ट्रिय एकता अभियानका करिब ५०–६० जना कार्यकर्ता जानकी मन्दिर परिसर तथा आसपासका क्षेत्रमा परिचालन भएका छन्।
यता, धनुषा प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै प्रतिनिधिसभा सदस्य साम्पाङको सुरक्षाका लागि पर्याप्त प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्।






