चन्द्रपुरमा १२ थान खयर काठ बरामद

1200x150_1200x150-01.jpg (1)

रौतहट, ५ साउन । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा बहुमूल्य खयरका रूख अवैध रूपमा कटान गरी तस्करी गरिएको घटना सार्वजनिक भएपछि डिभिजन वन कार्यालय रौतहटले स्थलगत निरीक्षण गरेको छ ।
डिभिजनल वन अधिकृत मनोज ठाकुरको नेतृत्वमा सोमवार गरिएको निरीक्षणका क्रममा डमरू बनाउन प्रयोग हुने आकारका १२ थान खयरका काठ बरामद गरिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । बरामद काठको कुल परिमाण १०.७० क्युबिक फिट रहेको बताइएको छ ।
कार्यालयका अनुसार अवैध रूपमा काटिएका खयरका अधिकांश काठ तस्करहरूले घटनास्थलबाटै लगिसकेका थिए । निरीक्षणका क्रममा बाँकी रहेका काठ मात्रै फेला परेको जनाइएको छ ।
घटनापछि डिभिजनल वन अधिकृत ठाकुरले अवैध कटान तथा तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाउन गैडाटार सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा शान्ति सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई निर्देशन दिएका छन्।
स्थानीयवासीले भने सामुदायिक वन क्षेत्रमा लामो समयदेखि बहुमूल्य खयरका रूख अवैध रूपमा काटेर तस्करी हुँदै आएको आरोप लगाएका छन् । उनीहरूले वन उपभोक्ता समूह र सम्बन्धीत निकायले प्रभावकारी निगरानी गर्न नसकेको गुनासोसमेत गरेका छन् ।
डिभिजन वन कार्यालयले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको जनाएको छ । दोषी पहिचान भए वन ऐनअनुसार कानुनी कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ ।

सम्बन्धित पोस्टहरुः