काठमाडौं,०५ साउन । काठमाडौंको बौद्ध चुच्चेपाटीमा कपडाका थोक व्यापारी नवीन अग्रवालले आफ्नै निवासबाट हामफालेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवालले सोमबार साँझ काठमाडौं महानगरपालिका–७, बौद्ध चुच्चेपाटीस्थित आफ्नै घरको चौथो तलाको बार्दलीबाट हामफालेका थिए ।
घटनापछि तत्काल उद्धार गरी उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
अग्रवाल भारतबाट कपडा आयात गरी काठमाडौंमा थोक व्यापार गर्दै आएका व्यवसायी हुन् । उनको मुख्य कारोबार बौद्ध क्षेत्रबाट सञ्चालन हुँदै आएको थियो ।
पारिवारिक स्रोतका अनुसार पछिल्लो समय व्यापारमा आएको मन्दीका कारण उनी आर्थिक दबाबमा थिए ।
साथै, उनी उच्च रक्तचाप, मधुमेह तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याका लागि औषधि सेवन गर्दै आएको बताइएको छ ।
प्रहरीले घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।






