निट परीक्षा विवादमा मोदी सरकारमाथि दबाब, देशभर आन्दोलन चर्कियो

1200x150_1200x150-01.jpg (1)

वीरगंज / नेपाल , साउन – ६

निट परीक्षामा भएको भनिएको अनियमितताको विषयलाई लिएर भारतमा केन्द्र सरकारविरुद्ध आन्दोलन थप चर्किएको छ। राजधानी दिल्लीस्थित जन्तरमन्तरमा विद्यार्थी र कक्रोच जनता पार्टी (सीजेपी) का कार्यकर्ताले वर्षाका बाबजुद प्रदर्शन गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।

प्रदर्शनकारीहरूले परीक्षामा देखिएको अनियमितताको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने, दोषीमाथि कडा कारबाही गर्नुपर्ने तथा शिक्षामन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले मोदी सरकारले विद्यार्थीको भविष्यप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएका छन्।

यता कांग्रेसले पनि आन्दोलनलाई समर्थन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीमाथि राजनीतिक दबाब बढाएको छ। राहुल गान्धी, प्रियङ्का गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहितका नेताहरू प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका थिए। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टापछि रिहा गरेको थियो। त्यसको विरोधमा केरल, जम्मु–कश्मीर, असमलगायत विभिन्न राज्यमा पनि प्रदर्शन भएको छ।

आन्दोलन तीव्र बनेपछि दिल्लीका १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरिएका छन् भने सुरक्षा कडा पार्न केन्द्रीय आरक्षित प्रहरी बल (सीआरपीएफ) का थप दुई हजार जवान परिचालन गरिएको छ।

यद्यपि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विपक्षी दलहरूले विद्यार्थीको आन्दोलनलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाएका छन्। आन्दोलनकारीहरूले भने सरकार विद्यार्थीका जायज मागप्रति उदासीन बनेको भन्दै निष्पक्ष छानबिन र जिम्मेवार पदाधिकारीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

सम्बन्धित पोस्टहरुः