वीरगंज, ६ साउन ।
नेपाल पत्रकार महासंघ पर्साले सञ्चारमाध्यममाथि भएको प्रशासनिक हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै वीरगंज महानगरपालिका–३१ को सिफारिसका आधारमा एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको विषयमा समाचार प्रसारण गरेको ःथ त्ख् लाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
महासंघका अनुसार वीरगंज महानगरपालिका–३१ का वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले समाचारसँग सम्बन्धीत पक्षसँग प्रत्यक्ष सम्पर्क नगरी ःथ त्ख् लाई पत्र काटेको देखिएको छ। कुनै सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति भएमा सर्वप्रथम सम्बन्धीत सञ्चारमाध्यममै खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया पठाउने व्यवस्था रहेको महासंघले स्मरण गराएको छ। त्यसबाट पनि चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी दिएर कानुनी उपचार खोज्ने स्पष्ट व्यवस्था विद्यमान रहेको विज्ञप्तिमा उल्लेख छ।
महासंघले सञ्चारसम्बन्धी विवादमा कानुनले तोकेको प्रक्रिया र अधिकारसम्पन्न निकायको प्रयोग नगरी स्थानीय प्रशासनमा उजुरी दिई त्यसकै आधारमा प्रहरीले सञ्चारमाध्यमलाई पत्र काट्नु विधिसम्मत अभ्यास नभएको जनाएको छ। यस्तो कार्यले कानुनी उपचारको प्रक्रियालाई नै ओझेलमा पार्नुका साथै सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई निरूत्साहित गर्ने नियत देखिएको महासंघको ठहर छ।
विज्ञप्तिमा संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र पत्रकारिताको अभ्यासमाथि प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरिएको छ। प्रहरी प्रशासनको संयन्त्रमार्पmत सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि मानसिक दबाब सिर्जना गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताको मर्मविपरीत हुने महासंघको भनाइ छ।
नेपाल पत्रकार महासंघ पर्साले प्रेस स्वतन्त्रतामा हस्तक्षेप हुने कुनै पनि गतिविधि नगर्न सम्बन्धीत सबै पक्षसँग आग्रह गर्दै यस्ता प्रवृत्ति दोहोरिए स्वतन्त्र प्रेसको रक्षा, पत्रकारको पेशागत अधिकारको संरक्षण तथा संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि महासंघ सशक्त रूपमा उभिने चेतावनी दिएको छ।






