वीरगंज, ६ साउन । वीरगंज महानगरपालिका–१९ बिन्दवासिनी चोकमा बुधवार लेनदेन पीडित संघर्ष समिति पर्सा गठन गरिएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा सुनिल पाण्डे, उपाध्यक्ष राजेश पटेल,
सचिव सन्तोष कुमार, सहसचिव कबिराज पटेल, कोषाध्यक्ष राजकुमार साह , सहकोषाध्यक्ष म्यानेजर कुमार चौरसिया, सदस्यहरूमा श्यामसुन्दर यादव, मुकेश साह तेली तथा सल्लाहकारहरूमा दीपेन्द्र प्रसाद कुर्मी, वृजकिशोर प्रसाद कलवार, पशुराम कुमार द्विवेदी, मुकेश पटेल, दिनानाथ यादव रहेका छन् ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै
अध्यक्ष पाण्डेले सरकारले एकपक्षीय रूपमा नौबुँदे सहमति गरेको आरोप लगाउनुभयो।
एक पक्षको मात्र भनाइका आधारमा सहमति गरिएको छ। वास्तविक अवस्था नबुझी केही व्यक्तिका गतिविधिलाई आधार बनाएर सम्पूर्ण लेनदेनकर्तालाई मिटरब्याजी भनिएको छ। यो सहमति तत्काल खारेज गरिनुपर्छ उहाँले भन्नुभयो।
सरकारले वास्तविक दोषी र कानुनी रूपमा लेनदेन गर्ने व्यक्तिबीच भिन्नता छुट्याउन नसकेको उहाँको दाबी छ।
आफूहरू बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर कानुनी प्रक्रियाअनुसार लगानी गर्ने र आवश्यक परेका बेला सर्वसाधारणलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेले स्पष्ट पार्नुभयो।
हामीले धेरै व्यक्तिलाई अप्ठ्यारो अवस्थामा आर्थिक सहयोग गरेका छौं। बैंकबाट ऋण नपाउनेले हामीबाट लिएर छोराछोरीको विवाह र उच्च शिक्षा दिलाएका छन। तर अहिले हामीलाई अपराधीसरह व्यवहार गरिएको छ” उहाँले गुनासो गर्नुभयो।
माँग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने समितिले निर्णय गरेको छ। अध्यक्ष पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउने, भोक हड्ताल, अनशन, विरोध प्रदर्शन र पत्रकार सम्मेलन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
सरकारले लेनदेनमा संलग्नहरूलाई अन्यायपूर्ण रूपमा ‘मिटरब्याजी’को आरोप लगाएर बदनाम गरेको भन्दै आफ्नो लगानीको संरक्षण का लागि समिति गठन गरिएको आयोजकहरूले बताएका छन।






