वीरगंज, साउन ६
आम जनता पार्टी (आजपा)ले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णयलाई स्वागत गर्दै राइड सेयरिङ सेवा तथा बिजुली महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।
आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयलाई सकारात्मक भन्दै प्रधानमन्त्री बालेन्द्र शाहप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउनु नै अनुचित भएको उल्लेख गर्दै जनभावनाअनुसार सरकारले उक्त निर्णय सच्याएको बताए।
अध्यक्ष साहले अब सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने राइड सेयरिङ सेवा तथा विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत भ्याट पनि हटाउनुपर्ने माग गरेका छन्। उनका अनुसार यस्ता करले नागरिकमाथि अनावश्यक आर्थिक भार थपिएको छ।
सरकारले हाल राइड सेयरिङ सेवा र बिजुली महसुलमा ५ प्रतिशत भ्याट लागू गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। आजपाले जनजीवनमा प्रत्यक्ष असर पर्ने यस्ता कर तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।







