वीरगंज, साउन ७
पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरमा ३७ वर्षीया एक महिलाको शव आफ्नै गोठमा शङ्कास्पद अवस्थामा फेला परेको छ। स्थानीय सुधीर सिलवालकी पत्नी लक्ष्मी सिलवाल बुधवार बिहान गोठको माथिल्लो तलामा मृत अवस्थामा भेटिएकी हुन्।
दुई सन्तानकी आमा लक्ष्मीको मृत्यु आत्महत्या नभई हत्या भएको हुन सक्ने आशङ्का गर्दै माइती पक्षले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। उनीहरूका अनुसार घटनास्थलको अवस्था र परिवारका सदस्यहरूको भनाइमा देखिएको विरोधाभासले घटनालाई थप शङ्कास्पद बनाएको छ।
परिवारका अनुसार मृतककी सासूले गोठको माथिल्लो तलामा डोरीमा झुन्डिएको अवस्थामा लक्ष्मीलाई देखेपछि डोरी काटेर शव तल झारेकी थिइन्। तर माइती पक्षले मृतकका चार वर्षीय छोराले ‘बाबाले ममीलाई कुट्नुभएको थियो’ भनेको दाबी गर्दै घटनालाई सामान्य आत्महत्याका रूपमा लिन नहुने जनाएको छ।
माइती पक्षका अनुसार घटनास्थलमा मृतकका फुटेका चुरा विभिन्न स्थानमा भेटिनुका साथै झुन्डिएको भनिएको डोरी र त्यसका लागि प्रयोग गरिएको काठको अवस्थाले पनि घटनाप्रति शङ्का उत्पन्न गरेको छ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले मृतकको शरीरमा प्रारम्भिक रूपमा कुनै बाह्य चोटपटक वा नीलडाम नदेखिएको जानकारी दिएका छन्। उनका अनुसार पोस्टमार्टम प्रतिवेदन, घटनास्थलबाट सङ्कलित प्रमाण र अन्य तथ्यका आधारमा घटनाको वास्तविक कारण खुल्नेछ।
मृतकका बुबा लक्ष्मी शिवाकोटीले घटनाको निष्पक्ष छानबीन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। प्रहरीले घटनाका सबै पक्षलाई समेटेर अनुसन्धान अघि बढाएको जनाएको छ।






