जनकपुर, साउन ७
सरकारले मिटरब्याजपीडितसँग गरेको नौबुँदे सहमति खारेज गर्न माग गर्दै ऋण लगानी गर्ने साहु–महाजनहरू मङ्गलवार जनकपुरमा प्रदर्शनमा उत्रिएका छन्। पीडित लेनदेन सङ्घर्ष समितिको ब्यानरमा एकीकृत भएका उनीहरूले सरकारले आफ्नो पक्ष नसुनी एकतर्फी सम्झौता गरेको भन्दै विरोध जनाएका हुन्।
प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अदालतअगाडि धर्ना दिँदै गृहमन्त्रीको राजीनामा र नौबुँदे सम्झौता खारेज गर्न माग गरेका छन्। उनीहरूले उक्त सम्झौताले कानुनी प्रक्रिया र ऋणदाता पक्षको अधिकारमाथि असर परेको दाबी गरेका छन्।
प्रदर्शनमा सहभागी लालदेव साहले सरकारले ऋणदाता पक्षलाई बेवास्ता गर्दै कानूनविपरीत सम्झौता गरेको आरोप लगाए। उनका अनुसार दुवै पक्षसँग छलफल नगरी गरिएको सहमतिले न्यायिक प्रक्रियामाथि नै प्रश्न उठाएको छ।
साहु–महाजनहरूले ऋणदाता र ऋणी दुवै पक्षको सहभागितामा समस्या समाधानको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्। उनीहरूले आफ्ना माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।
प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।






