वीरगंज, साउन ७
पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल श्रीलङ्कासँग ३–२ को सेटमा पराजित भएको हो।
श्रीलङ्काले पहिलो सेट २५–१८, चौथो सेट २५–२१ र निर्णायक पाँचौँ सेट १५–१० ले आफ्नो पक्षमा पार्दै जित हात पारेको हो। नेपालले भने दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जित्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। तर अन्तिम सेटमा लय कायम राख्न नसक्दा हार बेहोर्न पुग्यो।
यसअघि उद्घाटन खेलमा पनि नेपाल काजकस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो।
साउन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलङ्का सहभागी छन्। राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताबाट शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।







