लहान, साउन ७
सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–४ निवासी २० वर्षीया संजना कुमारी यादवमाथि अमानवीय घरेलु हिंसा भएको आरोप सार्वजनिक भएपछि घटनाले व्यापक ध्यान तानेको छ। पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ।
पीडितको भनाइअनुसार सामान्य फोनमा कुराकानी गरेको विषयलाई लिएर उनको मुखमा गम्छा कोच्ने, हातखुट्टा बाँध्ने, तातो रडले शरीर दाग्ने, करेन्ट लगाउने, कुटपिट गर्ने तथा ज्यान मार्ने उद्देश्यले शारीरिक र मानसिक यातना दिइएको आरोप लगाइएको छ।
घटनापछि स्थानीयवासी तथा सरोकारवालाहरूले पनि निष्पक्ष अनुसन्धानको माग गरेका छन्। आरोप सत्य प्रमाणित भए यो महिला हिंसा तथा मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित गम्भीर आपराधिक घटना हुने उनीहरूको भनाइ छ।
पीडित पक्षले नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ। साथै पीडितलाई आवश्यक स्वास्थ्य उपचार, सुरक्षा, मनोसामाजिक परामर्श तथा कानुनी सहायता उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
यद्यपि घटनाबारे सम्बन्धित निकायको अनुसन्धान जारी रहेको जनाइएको छ। आरोपहरूको सत्यता अनुसन्धान र कानुनी प्रक्रियापछि मात्रै पुष्टि हुने भएकाले प्रहरीले सबै पक्षलाई समेटेर छानबिन अघि बढाएको बताइएको छ।






