गौर, साउन ८
रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०–४५ वर्षीया रेनुदेवी जयसवालमाथि धारिलो हतियार प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ स्थायी घर भएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेका हुन्। घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल पठाइएको छ।
प्रहरीले घटनाको कारण खुलिनसकेको जनाएको छ। घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी सबै पक्षबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।







