वीरगंज, साउन ८
वीरगंज महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार राजश्व संकलन गर्न नसकेको छ। १ अर्ब ७० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा महानगरले ६७ करोड ५९ लाख रुपैयाँ मात्र उठाउन सफल भएको छ, जुन लक्ष्यको ३९.७६ प्रतिशत हो।
महानगरका अनुसार सम्पत्ति कर, घरबहाल कर र नक्सापास दस्तुरबाट सबैभन्दा बढी राजश्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ करोड ६६ लाख रुपैयाँ बढी राजश्व उठे पनि लक्ष्य भने पूरा हुन सकेन।
करदाताहरूले करको दर अत्यधिक भएकाले आर्थिक भार बढेको गुनासो गरेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले अव्यावहारिक लक्ष्य निर्धारण र सम्पत्ति करको दायरामा सबै करदाता समेट्न नसक्दा अपेक्षित राजश्व उठ्न नसकेको बताए।
उनले चालु आर्थिक वर्षमा करको दायरा विस्तार गर्दै राजश्व प्रशासनलाई थप प्रभावकारी बनाइने बताएका छन्।







