जनकपुरधाम, साउन ८
मधेश प्रदेशका १० स्थानीय तह चालु आर्थिक वर्ष २०८३/८४ को बजेट समयमै ल्याउन नसक्दा ‘बजेट होलिडे’को अवस्थामा पुगेका छन्। केही पालिकाले बजेट नै ल्याएका छैनन् भने केहीले बजेट सुत्र प्रणालीमा प्रविष्ट नगरेकाले कर संकलन र विकास निर्माणका काम रोकिएका छन्।
बजेट समस्यामा परेका स्थानीय तहमा सिरहाका सुखीपुर र औरही, धनुषाको कमला, रौतहटका गरुडा, कटहरिया, फतुवा विजयपुर, मौलापुर, यमुनामाई तथा पर्साका छिपहरमाई र पकाहा मैनपुर रहेका छन्।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार मसान्तभित्र बजेट पारित हुनुपर्ने भए पनि जनप्रतिनिधिबीचको विवाद, प्रमुख प्रशासकीय अधिकृतको अभाव र प्रशासनिक समस्याका कारण बजेट ल्याउन ढिलाइ भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको जनाउँदै समस्या समाधानसँगै बजेट पारित हुने अपेक्षा गरेको छ।






