काठमाडौं, साउन ८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदलाई परिवारका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्तिसम्बन्धी मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको जनाएको हो।
महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। नियुक्ति योग्यता, क्षमता र कार्यदक्षताका आधारमा मात्रै गर्न सांसदहरूलाई आग्रह गरिएको छ।
सरकारले हालै प्रत्येक संघीय सांसदलाई शाखा अधिकृत सरहका एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेपछि रास्वपाले यस्तो आन्तरिक मापदण्ड लागू गरेको हो।






