वीरगंज , साउन ९
भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियारका अनुसार बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी प्रक्रिया अघि बढाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीपछि निगरानी गरिएको थियो। सोही क्रममा उनीहरूलाई घुस रकम लिइरहेको अवस्थामा पक्राउ गरिएको हो।
आयोगले उनीहरूको साथबाट स्रोत नखुलेको थप ७१ हजार १ सय १५ रुपैयाँ नगद र तीन थान मोबाइलसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।






