नयाँ दिल्ली, साउन ९
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट–यूजी) मा भएको अनियमिततासम्बन्धी विवादबीच पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा पत्र पठाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
राजीनामा पत्रमा प्रधानले शिक्षा सुधार, विद्यार्थी र शिक्षकको हितका लागि चार दशकभन्दा बढी समयदेखि आफू समर्पित रहेको उल्लेख गर्दै बलियो, समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र विकासको आधार भएको बताएका छन्।
उनले नीट–यूजी परीक्षामा अनियमितताको गुनासो आएलगत्तै सरकारले तत्काल छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई जिम्मा दिएको, परीक्षा रद्द गरी पुनः सञ्चालन गरेको तथा आगामी वर्षदेखि परीक्षा पूर्ण रूपमा कम्प्युटर आधारित (सीबीटी) प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।
प्रधानका अनुसार २० लाखभन्दा बढी विद्यार्थीको परीक्षा निष्पक्ष रूपमा सम्पन्न गराउनु सरकारको प्राथमिकता थियो। केन्द्र, राज्य सरकार, स्थानीय प्रशासन, अभिभावक र विद्यार्थीको सहयोगमा पुनः परीक्षा सफलतापूर्वक सम्पन्न भएको र परिणाम पनि सार्वजनिक गरिएको उनले उल्लेख गरेका छन्।
पछिल्ला दिनमा विकसित घटनाक्रमले आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै उनले यो व्यक्तिगत प्रतिष्ठाको विषय नभई देशका युवाको भविष्यसँग जोडिएको विषय भएकाले राजीनामा दिएको बताएका छन्। विद्यार्थीको भविष्य कानुनी विवाद र राजनीतिक टकरावमा अल्झिन नदिन आफूले पद छाड्ने निर्णय गरेको उनको भनाइ छ।
प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदी, मन्त्रिपरिषद्का सहकर्मी तथा शिक्षा मन्त्रालयका कर्मचारीप्रति आभार व्यक्त गर्दै सार्वजनिक जीवनमा आगामी दिनमा पनि देश र युवाको हितमा काम गरिरहने प्रतिबद्धता जनाएका छन्।







