जनकपुर, साउन ९
मधेश प्रदेशमा गुणस्तरहीन तथा मिसावटयुक्त खाद्य पदार्थ उत्पादन एवं बिक्री गरेको आरोपमा ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत भेटिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो।
कार्यालय प्रमुख विमलकुमार दाहालका अनुसार बारा–पर्साका ५१, महोत्तरीका सात, सर्लाही र रौतहटका तीन तथा धनुषाका एक उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ। साथै सप्तरी, सिरहा र धनुषाका थप पाँच उद्योगी–व्यवसायीविरुद्ध पनि मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।
अनुगमनका क्रममा स्वास्थ्यका लागि हानिकारक मिसावट, म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानुनी कारबाही गरिएको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा ४ हजार ५५९ खाद्य नमुना परीक्षण गर्दा ३५ नमुनामा प्रतिकूल नतिजा आएको थियो। साथै होटल तथा रेष्टुरेन्ट अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायबाट लाखौँ रुपैयाँ जरिवाना समेत असुल गरिएको कार्यालयले जनाएको छ।







