बारा, साउन ९
बारा जिल्लामा पानीमा डुबेर बालबालिकाको ज्यान जाने घटना बढ्दै गएको छ। शुक्रबार कलैया उपमहानगरपालिका–१० मा छ महिनाकी शिशुको नहरमा डुबेर मृत्यु भएपछि पछिल्लो एक सातामा डुबेर ज्यान गुमाउने बालबालिकाको संख्या चार पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया–१० मटिअर्वाका मोबारक मियाकी छ महिनाकी छोरी सनाया खातुन घरको आँगनसँगै बगेको नहरमा खसेर डुबेकी थिइन्। उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यसअघि सोमबार जितपुरसिमरा–७ स्थित सरिसवा नदीमा डुबेर तीन वर्षीया फुलतारा खातुनको मृत्यु भएको थियो। यही साताभित्र धानखेतमा जमेको पानी र पोखरीमा डुबेर अन्य दुई बालिकाको पनि ज्यान गएको प्रहरीले जनाएको छ।
लगातार वर्षासँगै नदी, नहर, पोखरी तथा जलाशयमा पानीको सतह बढेकाले बालबालिकालाई पानी नजिक एक्लै खेल्न नदिन र जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षा उपाय अपनाउन प्रहरीले अभिभावक तथा स्थानीयवासीलाई आग्रह गरेको छ।






