सर्लाही, साउन ९
सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर पलारस्थित प्राथमिक विद्यालय विगत चार वर्षदेखि कालो सूची (ब्ल्याकलिस्ट) मा परेको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण गरिएको भवनको सामग्रीको भुक्तानी विवादका कारण विद्यालयको बैंक खाता रोक्का भएपछि विद्यालय ब्ल्याकलिस्टमा परेको हो।
प्रधानाध्यापक सुरेश पासवानका अनुसार विद्यालयको खाता सञ्चालन हुन नसकेपछि शिक्षकको तलब, प्रशासनिक खर्च र अन्य रकम नगरपालिकाले प्रधानाध्यापकको व्यक्तिगत खातामा पठाएर विद्यालय सञ्चालन हुँदै आएको छ।
विद्यालय कालो सूचीमा परेकै कारण भवन निर्माणका लागि थप बजेट ल्याउन नसकिएको र अधुरो संरचना पूरा हुन नसकेको विद्यालय प्रशासनले जनाएको छ। निर्माण सामग्री आपूर्तिकर्ताले करिब ३ लाख ६५ हजार रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेका छन्।
हाल विद्यालयमा ६७ जना विद्यार्थी अध्ययनरत छन्। लालबन्दी नगरपालिकाले विद्यालयलाई कालो सूचीबाट हटाउन विभिन्न प्रयास भइरहेको बताए पनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन।






